सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरले अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ।
प्रशिक्षक जगत टमाटाले ब्याटिङ बलिङ सबैमा टिमले राम्रो गरिरहेको बताएका छन् । ‘अहिले पनि हाम्रो बलियो पक्ष बलिङ देखिएको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै बलियो छ जस्तो मलाई लागिरहेको छ’ उनले भनेका छन् ।
यस्तै राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पनि फाफ डुप्लेसी, मार्टिन गप्टिल, साम हिजलेट, मर्चेन्ट डे लाङजस्ता विदेशी खेलाडीको उपस्थितिले बलियो देखिएको छ ।
सुदूरका लागि लिग चरणमा खेलेका क्रिस लिन र जोश ब्राउन प्लेअफमा उपलब्ध हुने छैनन् । उनीहरूको स्थानमा भारतका शेल्डन ज्याकसन र पाकिस्तानी मूलका अमेरिकी क्रिकेटर मुख्तार अहमद भित्र्याइसकेको छ ।
यता विराटनगरका लागि भने डुप्लेसी, हिजलेट, गप्टिल र डे लाङ अन्तिमसम्मै उपलब्ध हुनेछन् । यसअघि शुभम रन्जाने भने लिग चरणकै बीचमा फर्किसकेका थिए भने जर्ज मन्से पनि फर्किएका छन् । शेहान जयसूर्यालाई पाँचौं खेलमा टोलीमा ल्याइएको भएपनि उनी सोही खेलमा चोटग्रस्त भएपछि खेलेका छैनन् । अन्य विदेशी खेलाडी विराटनगरले घोषणा गरेको छैन ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले सुदूरपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको बताउँदै अघिल्लो खेलबाट सकारात्मक पक्षहरू अर्को खेलमा पनि लिएर जाने बताएका थिए । ‘सुदूरपश्चिमले धेरै राम्रो ब्रान्ड अफ क्रिकेट खेलिरहेको छ, त्यसको क्रेडिट दीपेन्द्र (कप्तान)लाई पनि जान्छ’ सन्दीपले भने, ‘आजको दिनमा जसरी खेलेका छौं, सकारात्मक कुराहरूलाई अगाडिको खेलमा पनि लिएर जानेछौं।’.

हेड टु हेड
एनपीएलको पहिलो र दोस्रो संस्करणमा गरेर यी दुई टोली २ पटक मात्र भिडेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमले एकपक्षीय जित निकालेको थियो भने दोस्रो संस्करणमा विराटनगरले सोही किसिमको नतिजा निकाल्यो ।
पहिलो संस्करणमा सुदूरपश्चिमले विराटनगरमाथि ९० रनको शानदार जित हासिल गरेको थियो । १८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमा अलआउट भएको थियो ।
यस संस्करण भने यी दुई टोलीले आ-आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । दुवै टोली प्लेअफमा पुगिसकेको अनि सुदूर पहिलो हुने पक्का भइसकेको अवस्थामा विराटनगरलाई भने ठूलो अन्तरको जित आवश्यक थियो ।
सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरभित्रै पूरा गरेको थियो ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
सुदूरपश्चिमका लागि टप अर्डरमा विनोद भण्डारीको भूमिका महत्वपूर्ण हुनेछ । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा प्रभाव पार्न सक्छन् । हर्मीत सिंहको बाँयाहाते स्पीन बलिङ घातक साबित हुन सक्छ ।
सुदूरपश्चिमका लागि विदेशी खेलाडीले मात्र नभएर नेपाली खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । सर्वाधिक रन बनाउने र विकेट लिनेमा नेपाली खेलाडी नै अग्रस्थानमा छन् ।
सबैभन्दा धेरै रन विनोद भण्डारीले बनाएका छन् । उनले ७ खेलमा १ अर्धशतकसहित २०१ रन बनाएका छन् । सबैभन्दा धेरै विकेट अविनाश बोहराको नाममा छ । उनले ७ खेलमा १४ विकेट लिएका छन् ।
अब प्लेअफका लागि लिन र ब्राउन भने उपलब्ध छैनन् । उनीहरूको स्थानमा अमेरिकी ब्याटर मुख्तार अहमद र भारतीय ब्याटर शेल्डन ज्याकसन अनुबन्ध भइसकेका छन् । उनीहरूबाट पनि राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।
यता विराटनगरका लागि टप अर्डरमा फाफ डुप्लेसी, साम हिजलेट र मार्टिन गप्टिलको प्रदर्शन महत्वपूर्ण हुनेछ । मध्यक्रम ब्याटिङमा बसिर अहमद क्रुसियल बन्न सक्छन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले प्रभाव पार्न सक्छन् । ७ खेलमा १५ विकेट लिएका उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर समेत हुन् । पेस बलर मर्चेन्ट डे लाङले ८ विकेट लिएका छन् । उनीबाट अझै राम्रो प्रदर्शनको अपेक्षा रहनेछ ।
खेल : सुदूरपश्चिम रोयल्स भर्सेस् विराटनगर किङ्स (क्वालिफायर १)
समय : अपरान्ह ४ बजे (डे/नाइट खेल)
मौसम : सफा, बेलुका शीत आउन सक्ने
सम्भावित ११
सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद, शेल्डन ज्याकसन/पुनीत मेहरा, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी/हिक्मत महरा, दिपक बोहरा
विराटनगर किङ्स : फाफ डुप्लेसी, साम हिजलेट, मार्टिन गप्टिल, बसिर अहमद, लोकेश बम, नारायण जोशी, नरेन भट्ट, मर्चेन्ट डे लाङ, सन्दीप लामिछाने, प्रतिश जीसी, सुवास भण्डारी
Post Comment