उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेटवार्ता
१९ मंसिर, काठमाडौं ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदान पछि सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोग लगायत बहुआयामिक विषयमा छलफल भएको हो । भेटमा उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताए ।

उनले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाई दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौतीहरू पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एशियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेन–जी’ आन्दोलनपश्चात देश आम निर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताए । क्षेत्रीय सहयोगका विषयमा उपराष्ट्रपति यादवले सन् १९८५ मा स्थापना भएको सार्कले विगत ३७ वर्षमा आपसी सहयोगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको र संगठनात्मक तथा कानूनी संरचनाहरू विकास भएको बताए । नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे ।





Post Comment