मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
२० कात्तिक, जनकपुरधाम ।
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पछिल्लो डेढ महिनायता एकपछि अर्को विवाद छताछुल्ल भएको छ । गत ५ असोजमा पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यो घटना सेलाउन नपाउँदै फेरि पालिका अध्यक्ष चौधरीको राजीनामा विवाद सतहमा आएको छ ।


मंगलबार साँझ अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक भयो । ५ असोजको मिति उल्लेख गरिएको सो पत्र १८ कात्तिकमा कार्यपालिका बैठकबाट स्वीकृत भएको देखिन्छ । अग्नीसाइर कृष्णसवरन गाउँपालिका उपाध्यक्ष कल्पना चौधरी र वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले अध्यक्षले राजीनामा दिएको बताएका छन् । ‘असोज ५ गते परिषद् भएको दिन मालिस गरेको भिडियोसमेत आएको थियो, त्यही दिन अध्यक्ष चौधरीले राजीनामा पत्र बुझाउनुभएको थियो । कात्तिक १८ गतेको कार्यपालिका बैठकले सो राजीनामा स्वीकृत गरेको छ,’ उपाध्यक्ष चौधरीले भनिन् । एमालेबाट निर्वाचित वडाध्यक्ष खलिफाले पनि पालिका अध्यक्षले राजीनामा दिएको र कार्यपालिका बैठकले स्वीकृत गरेको पुष्टि गरे । यो खबर सार्वजनिक भएकै भोलिपल्ट बुधबार पालिका अध्यक्ष दिनानाथ चौधरीले प्रेस विज्ञप्ति जारी गरे । विज्ञप्तिमा आफूले राजीनामा नदिएको दाबी गर्दै त्यो पूर्ण रूपमा किर्ते र नियोजित रूपमा भ्रम फैलाउने कार्य भएको आरोप लगाएका छन् ।






Post Comment