एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा कालभैरव सहकारीका सञ्चालक पक्राउ
२४ पुस, काठमाडौं। सहकारीको १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा सञ्चालकसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। उनीहरुले साढे ७ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। यो ठगी प्रकरणमा अझै केही व्यक्तिहरु पक्राउ पर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ।