बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
सर्लाही । भारतमा हुन लागेको बिहार विधानसभा निर्वाचन–२०२५ लाई लक्षित गर्दै नेपाल-भारत सीमा सुरक्षालाई प्रभावकारी बनाउन हिजो बुधबार भारतको सीतामढीस्थित सोनबरसा प्रहरी चौकीमा नेपाल र भारतका सुरक्षा निकायबीच समन्वय बैठक सम्पन्न गरिएको छ ।
बैठकमा दुबै देशका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न र आपराधिक गतिविधिमा नियन्त्रण ल्याउन संयुक्त रूपमा कार्य गर्ने सहमति जनाएका छन् । सर्लाहीको सीमावर्ती क्षेत्रका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अधिकारीहरू बैठकमा सहभागी भएका थिए ।
बैठकमा आपसी सहयोग र सूचनाको शीघ्र आदान–प्रदान, आपराधिक तत्वहरूको गतिविधिमा निगरानी, अवैध सामान तथा मादक पदार्थको तस्करी नियन्त्रण, अवैध मुद्राको प्रवाह रोकथाम, र सिमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।
नेपाल तर्फबाट सहभागी नेपाल प्रहरीका अधिकारीहरूले निर्वाचन अवधिमा भारत–नेपाल सीमामा सुरक्षा सतर्कता बढाइने र सीमाबाट हुने सम्भावित गैरकानूनी आवागमन तथा तस्करी रोक्न थप गस्ती व्यवस्था गरिने बताएका छन् । दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति र आपसी विश्वास कायम राख्दै आपराधिक गतिविधि नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।



Post Comment