सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
२० भदौ, रामेछाप ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनु अधिनायकवादको सङ्केत भएको बताएका छन् । शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलगंगा गाउँकमिटिको अधिवेशनमा आएका वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई अधिनायकवाद तर्फ धकेल्ने प्रवृत्ति भएका समेत टिप्पणी गरेका छन् ।
पत्रकारहरुसगँको कुराकानीमा वाग्लेले जनताको दबाब र विरोधकै कारण सरकारले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने दाबी समेत गरे । “आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै हो” वाग्लेले भने । सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने कुरा सुझबुझका साथ चरण बद्ध रूपमा गर्नु पर्नेमा वाग्लेले जोड दिए ।
उनका अनुसार अहिले करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका छन् । उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल भएको बताउँदै यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दमन गर्न नसकिने उनले स्पष्ट पारे।
Post Comment