२६ भाद्र २०८२, बिहीबार

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

१९ भदौ, काठमाडौँ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गरेको हो ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समय मात्र पदमा रहन्छन् । संसदमा छलफलमा रहेको प्रहरी विधेयक पारित नभएको अवस्थामा उनले २ महिना ७ दिन मात्र प्रहरीको कमान्ड समाल्ने छन् । २०२७ मङ्सिर २३ मा तेह्रथुममा जन्मिएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए ।

करिब तीन दशक लामो सेवाकालमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरेका छन् । २०८० वैशाखमा डीआईजी बनेका खापुङले कोशी प्रदेश प्रहरी प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि जिम्मेवारी सम्हालेका थिए ।

उनले इटाली, भियतनाम र चीनसहित विभिन्न देशमा १४ वटा तालिम लिएका छन् । आगामी कार्तिक २६ मा सेवा अवधि पूरा गरी उनी अवकाशमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment