वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
८ भदौ, काठमाडौं ।
गत शुक्रवार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यान सहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रुपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । उनले भने, “आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ ।
प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।” वीरगन्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादव सहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।
हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्री सहितको मोबाईल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यान सहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पटाइँदै छ ।” वीरगन्जमा शुक्रवार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिवार मृत्यु भएको जनाइएको छ ।
Post Comment