बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
२८ साउन, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सामाजिक सञ्जालमार्फत फैलाइएको ‘नेप्से एआई’ नामको मोबाइल एप डाउनलोड नगर्न आग्रह गरेको छ। पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत प्लेटफर्ममा शेयर बजारको नाम प्रयोग गरी विज्ञापन देखाएर एप डाउनलोड गराउने र त्यसपछि आर्थिक ठगी गर्ने घटना बढेको प्रहरीले जनाएको छ। एआईले सेयर बजार विश्लेषण गरी बढी भन्दा बढी नाफा कमाउने प्रलोभन देखाएर ठगी धन्दा भएको भन्दै सतर्क रहन आग्रह गरिएको हो।
ब्युरोका अनुसार, पीडितले एप इन्स्टल गरेपछि उक्त एपमार्फत मोबाइल स्क्रिनको खाली भागमा क्लिक गर्न लगाइन्छ। त्यसपछि प्रयोगकर्ताको मोबाइलमा रहेका संवेदनशील जानकारी चोरी गरी बैंक खाताबाट लाखौं रुपैयाँसम्म रकम ट्रान्सफर गर्ने घटना दर्ता भएको छ। यस्ता घटनामा पीडितको डिजिटल डिभाइस पूर्ण रूपमा नियन्त्रणमा लिएर थप क्षति पुर्याउने काम पनि भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता जोखिमबाट बच्नका लागि टू–फ्याक्टर अथेन्टिकेसन कोड कसैलाई पनि नदिन, पासवर्ड नियमित रूपमा परिवर्तन गर्न, अपरिचित लिङ्क वा एप डाउनलोड नगर्न र एनिडेक्स, टिम भ्युअर, रिमोट एक्सेस जस्ता सफ्टवेयरमार्फत आफ्नो डिभाइसको पहुँच नदिन सुझाव दिएको छ। साथै, केवल आधिकारिक एप स्टोर (गुगल प्ले स्टोर, आई ओ एस एप स्टोर) बाट मात्र एप डाउनलोड गर्न पनि आग्रह गरिएको छ। साथै, यस्ता घटनामा परेको खण्डमा नजिकैको बैंक, वित्तीय संस्था वा नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।






Post Comment