घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
१८ साउन, काठमाडौं ।
घुससम्बन्धी मुद्दामा उल्टो बयान दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा प्रतिकूल बयान दिएको आरोपमा आफ्नै एक साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रतिकूल बयान दिएका कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको हो । खरिदारद्वय रतनबहादुर जीसी र हरिचन्द्र पाण्डेको घुस मुद्दामा सरकारी साक्षीका रूपमा बुढाथोकी सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएको थियो । खरिदारद्वय जीसी र पाण्डेलाई उनै बुढाथोकीले घुस दिएका थिए । जसकारण अख्तियारले साक्षीको रुपमा उनलाई प्रस्तुत गरेको थियो । तर, उनले अख्तियारमा एकथरी र अदालतमा प्रतिकूल हुने गरी बकपत्र गरेको आरोप छ । अख्तियारका अनुसार बुढाथोकीले गत असार २६ गते विशेष अदालतसमक्ष प्रतिकूल बकपत्र गरेका थिए ।

जग्गाको मोठ भिडाउन सहजीकरणका निम्ति मिलेमतोमा खरिदारद्वय जीसी र पाण्डेलाई उनले घुस दिएका थिए । तर, बुढाथोकीले अख्तियारमा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र दिएपछि अभियोग प्रमाणित हुन सक्ने अवस्था नै रहेन । यसैकारण अख्तियारले उनै बुढाथोकीविरुद्ध नै भ्रष्टाचारको मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार बुढाथोकीलाई पनि २० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा लगाएको हो ।




Post Comment