लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त
२ साउन, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित सुर्खेतमा पक्राउ परेका छन् । प्रहरीले बिहीबार राती लागूऔषधको कारोबार भइरहेको सूचना आधारमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र उनका सहयोगी २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाही २०७८ सालमा नीरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका थिए । उनी लामो समयदेखि फरार रहेको प्रहरीको भनाई छ । सोही घटनाका अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए । प्रहरीका अनुसार, शाहीले फरार रहँदा नै लागूऔषधको ठूलो सञ्जाल चलाइरहेका थिए । स्थानीयको सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर–८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले बताए ।
Post Comment