८ श्रावण २०८२, बुधबार

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ । मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा कानुनले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । स्थानीय सरकार संचालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि ऐनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो । तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् । गुरागाईंले मेयरले बैठक बोलाएको जानकारी प्राप्त भएकाले आफू पनि सहभागी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?