बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरका बारेमा बोलेका छन्। उनले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्यमबाट निरन्तर रूपमा विभिन्न खालका आरोप र टीकाटिप्पणी हुन थालेपछि बाध्य भएर बोलेका हुन्। केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं टावरको नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयासप्रति पनि आक्रोश व्यक्त गरे।
‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो। मैले नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने,’ ‘म फेरि पनि भन्छु। मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो। त्यसमा मेरो दोष छैन। सम्बन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानून र प्रक्रियामा दोषी प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु तर अहिले जुन ढंगबाट लाञ्छना लगाउने काम भएको छ त्यो गलत छ।’ प्रमुख प्रशासकीय अधिकृतले भने जस्तै काठमाडौं टावरको नक्सा स्वीकृतको कागजपत्र हेर्ने हो भने तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई सम्बोधन गरेर उठाएको फाइल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गरेर ‘नगर प्रमुखज्यू पेस भए बमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु’ भन्दै २०८० मंसिर २७ गते मेयर बालेन शाहलाई पठाएको देखिन्छ।
उक्त फाइल मेयर शाहकोमा पुगेपछि शाहले पुस २ गते पाँच लाख जरिवानासहित स्वीकृत गरेको देखिन्छ। त्यही फाइल नयाँ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले स्वीकृत गरेको प्रष्ट हुन्छ। गुरागाईंले स्वीकृत गरेको फाइलमा समेत ‘मिति २०८०/९/०२ गतेको श्रीमान नगर प्रमुखज्यूले रु ५, ००००० (पाँच लाख) जरिवाना गर्ने निर्णय र मिति २०८०/९/०५ गतेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कानून अनुसार नक्सा स्वीकृतका लागि पेस गर्ने भन्ने आदेश अनुसार नक्सा स्वीकृत’ भनेर उल्लेख गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिए।
Post Comment