प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
१० असार, काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक भनेको सरकारको वार्षिक बजेट कार्यान्वयन गर्न संसदबाट पारित गरिनुपर्ने कानुनी दस्तावेज हो । यो पारित भएपछि विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजित रकम खर्च गर्न कानुनी अनुमति मिल्छ ।
आजको संसद बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।त्यसअघि बैठकमा विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्युसूची छ । आज श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
Post Comment