हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघका नेता/कार्यकर्ताहरू घमण्डी नभएको बताउँदै कसैले पिट्न आए ओम शान्ति भन्दै बस्न पनि नहुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । युवामा घमण्ड पसेपछि बिग्रने बाटोमा पुग्ने प्रसंग अघि सार्दै प्रधानमन्त्री ओलीले युवा संघले अन्याय नसहने र नगर्ने बताए ।‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ ।
हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति…भनेर चाँही बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’अहिले केहीले अर्थ बिनाका युवा भने उचाल्ने प्रवृत्ति बढ्दै आएको बताउँदै ओलीले कुन तहसम्म युवाले के गर्छ भन्ने कुरा महत्त्वपूर्ण भएको जिकिर गरे । अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन ।
Post Comment