भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
९ जेठ, काठमाडौं ।
गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए ।
भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ । प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए । सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ । गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।
Post Comment