२६ जेष्ठ २०८२, आईतवार

अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन

 

दश वर्षयता दैलेख सदरमुकाम आसपास रहेका मुख्य दुई वटा खोलाको सतह घटेको छ । खोलाभित्रै डोजर प्रयोग गरेर निर्माण व्यवसायी तथा क्रसर सञ्चालकहरुले नदिजन्य बस्तु निकाल्न थालेसँगै छामघाट र लोहोरे खोलाको सतह घटेको हो । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको सिमा भएर पूर्वमा लोहोरे र पश्चिममा छामघाट खोला बगेका छन् । यी दुई खोलामा बढी दोहन हुने गरेको पाईएको छ ।

दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिकाको सिमा भएर बग्ने पादुका खोलामा पनि उत्तिकै दोहनका कारण सतह घट्दोअवस्थामा छ । नदीको सतह घट्दा मावनबस्ती समेत जोखिममा पुगेपछि अहिले चिन्ताको विषय बनेको हो । स्थानीय पालिकाले तोकेको आइइभन्दा मनपरि रुपमा नदिजन्य बस्तु निकाल्ने गरेको पाइएको छ । नारायण नगरपालिकाले दुवै खोलाको आइइ गरेको छ । आइइ कागजमै सीमित छ तर, व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु उत्खनन्ले खोलाको सहत तलतल घट्दो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित भएका हुन् । नगरपालिकाले बर्सेनि ठेक्का दिन्छ तर, कहाँबाट उत्खनन् गर्ने भनेर एकिन नगर्दिँदा व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु निकाल्ने गरेका पाईएको हो ।

सुनसान स्थान र राति डोजर खोलाभित्रै लगेर नदिजन्य बस्तु निकाल्ने गरेको पाईएको छ । स्थानीय प्रशासनले सामान्य जरिवाना बाहेक अरु काट्ने गरेको छैन् । जसका कारण व्यवसायीहरु हौसिका हुन् । कानुनविपरित दैलेखमा क्रसर उद्योग खुलेआम चलिरहेका छन् । अवैध रुपमा चलेका त्यस्ता क्रसर उद्योगले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर नदिजन्य बस्तु विक्रि गर्ने गरेका छन् । नारायण र दुल्लुनगरपालिकाबाट न्यून राजश्व उठेको पाईएको छ । वर्षेनी नदिजन्य बस्तु निकाशीको लागि ठेक्का आह्वान भएपनि कम मूल्यमा ठेक्का पर्ने गरेको छ । व्यवसायीहरुले खुलेआम खोलाबाटै ठुलो मात्रामा नदिजन्य बस्तु चोरी निकासी गरेर लैजाने गर्दछन् । पक्की पुलकै आसपासबाट धेरै नदिजन्य बस्तु निकासी गरेका कारण पुल जोखिममा पर्ने गरेको छ । मनपरिरुपमा नदिजन्य बस्तु निकाल्दा नदी सतह घट्दो अवस्थामा रहेको छ ।दैलेखमा मुख्यगरी लोहोरे खोला, छामघाट खोला र पादुका खोलामा बढी नदिजन्य बस्तु दोहन हुने गर्दछ ।

विकासका नाममा वर्षौदेखि क्रसर उद्योग राखेर अवैध धन्दा खुलेआम चलाएपछि दैलेखमा आउने प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरु चुपचाप कार्यकाल विताएरै जाने गर्दछन् । जसको कारण यहाँका खोलानालामा मनपरि तस्करको राज हुने गरेको छ ।न्यून राजश्व आर्थिक वर्ष ०७९/८० मा १७ लाख ९६ हजार ३ सय १० रुपैयाँ, ०८०/०८१ मा १९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ, ०८१/८२ मा १० लाख ६७ हजार रुपैयाँमा ढुंगा गिट्टी र बालुवाको ठेक्काबाट राजश्व आएको नारायण नगरपालिकाका राजश्व शाखा प्रमुख सुजन विकले बताए । नारायणमा लोहोरे, छामघाट खोलाबाट नदिजन्य बस्तु उत्खनन्का लागि ठेक्का आह्वान गरिएको हो । दुई वर्षयता मात्र दुल्लुमा राजश्व संकलन हुन थालेको छ । जसमा ०७९/०८० मा दुल्लुमा ठेक्का नै लाग्न सकेन् । ०८०/०८१ मा ५ लाख ३८ हजार ६ सय ३० रुपैयाँ र ०८१/८२ मा ७ लाख ७४ हजार ३ सय रुपैयाँ ठेक्काबाट राजश्व संकलन भएको दुल्लु नगरपालिकाका राजश्व शाखाका प्रमुख दिपेन्द्र शाहीले बताए । दुल्लुमा छामछाट, लोहोरे, पादुका र कर्णाली नदी पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment