२५ जेष्ठ २०८२, शनिबार

कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि

 

२८ वैशाख, कर्णाली ।

कर्णाली प्रदेशको बजेट अधिवेशन आइतबार (आज) बाट सुरु हुँदै छ । २१ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । यो अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ ।

१ असारमा प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोडबराबरको बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताए ।

चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने भन्दै उनले आगामी वर्षको बजेटको अंक बढेर आउने बताए । सोहीबमोजिम सबै मन्त्रालयहरूलाई बजेट सिलिङ बढाएर पठाइएको उनको भनाइ छ । आगामी बजेटमा पूर्वाधारसँगै रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री शाहको भनाइ छ । विगतमा योजनामाथि योजना थपिने तर बजेट कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्नतर्फ प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?