भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?

१४ वैशाख, मुम्बई–
भारतीय क्रिकेट स्टार विराट कोहली मैदानसँगै आफ्नो नीजि जीवनका कारण पनि चर्चामा छन् । भारतमा जारी आईपीएल २०२५ मा रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेलिरहेका यी सेलिब्रेटी खेलाडीका बारेमा एउटा व्यक्तिगत खबर बाहिरिएको छ । समाचारमा जनाइए अनुसार उनी आफ्नो परिवारसहित भारत छाडेर लण्डन बसाईँ सर्ने तयारी गरिरहेका छन् । उनका कोच राजकुमार शर्मापछि अहिले डा.श्रीराम नेनेले पनि विराट कोहली तथा अनुष्का शर्माको लण्डन सिफ्ट हुने कुरामा प्रतिक्रिया दिएका छन् ।

क्रिकेट मैदानमा आफ्नो जोश तथा उत्साहका कारण दर्शकको नजरमा परिरहने क्रिकेटर कोहली तथा अभिनेत्री अनुष्का शर्मा आफ्नो भविष्यको घरका कारण चर्चामा आएका छन् । हालै कोहलीका कोच राजकुमार शर्माले विराट लण्डन सिफ्ट हुनसक्ने बताएका थिए, तर अब माधुरी दीक्षितका श्रीमान् डा.श्रीराम नेनेले पनि यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् । डा. नेनेले भनेका छन् – ‘विराट र अनुष्काले लण्डनमा बस्ने निर्णय त्यसैले पनि गरेका हुन् ताकि भारतमा हुने अत्यधिक मिडिया र जनसाधारणको ध्यानबाट टाढा रहन सकून् ।’ डा. नेनेले युट्युबर रणवीर अल्लाबादियासँगको कुराकानीमा भनेका छन्– ‘हामीले विराटसँग धेरै पटक भेट गरेका छौं । उनी एकदमै राम्रा व्यक्ति हुन् । एक दिन अनुष्काले कुराकानीका क्रममा के बताएकी थिइन् भने भारतमा उनीहरूले आफ्नो सफलताको मजा लिन सकिरहेका थिएनन्, किनभने हरेक समयमा मिडियाको नजर उनीहरूमाथि रहन्थ्यो ।

त्यसैले उनीहरू लण्डन गएर सामान्य जीवन बिताउन चाहन्थे ।’ विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए । अहिले उनीहरू दुई सन्तानका अभिभावक हुन् । विराट आफ्ना बच्चाहरूको नीजि जीवनमा बाह्य दखल चाहँदैनन्, त्यसैले उनीहरूलाई मिडियाको नजरबाट टाढा राख्ने गर्छन् । विराटका बाल्यकालका कोच राजकुमार शर्माले पनि एक राष्ट्रिय दैनिकसँग कुरा गर्दै भनेका थिए– ‘हो, विराट आफ्ना बच्चाहरू र पत्नी अनुष्का शर्मासँग लण्डनमा बस्ने योजना बनाइरहेका छन् । उनी छिट्टै भारत छाडेर सर्ने तयारीमा छन् । यद्यपि अहिले कोहली क्रिकेटबाहेक आफ्नो अधिकांश समय परिवारसँग बिताइरहेका छन् ।’




Post Comment