राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी
६ वैशाख, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै, १६ चैतबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ । २६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो । यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो । दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ ।
Post Comment