मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड

२ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको भन्दै केही ऐतिहासिक निर्णय पनि भएको बताएका छन् । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकार हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनता र जनताको पक्षमा धेरै काम गरिरहेको बताए ।‘मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए,’ प्रचण्डले भने । साथै, उनले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्मेलन लगायतका मञ्चमा आफूले बलिाये उपस्थिति समेत जनाएको प्रचण्डको भनाइ थियो । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा चाहे त्यो संयुक्त राष्ट्रसंघको कुरा गरौं, चाहे जलवायु परिवर्तनको कुरा गरौं, चाहे अन्तर्राष्ट्रिय सम्मेलनको कुरा गरौं हामीले नेपाल र नेपालीको पक्षमा,’ प्रचण्डले भने, ‘र, त्यतिबेला नेपाल ४७ देशको अध्यक्षको भूमिकामा थियो ।

मैले ४७ देशको अध्यक्षको नाताले पनि सबै गरिब देशको समस्यालाई राष्ट्रसंघमा राख्ने र नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको थियो ।’ राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको उनको भनाइ थियो । ‘यसरी भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने । उनले एकजुट भएर अघि बढ्दा देशबाट भ्रष्टाचार निर्मुल पार्नसक्ने पनि बताए । ‘तपाईं, हामी एकजुट भएर अघि बढ्यौं भने भ्रष्टाचारीलाई यो देशबाट निर्मुल गर्न सकिन्छ,’ प्रचण्डले भने ।




Post Comment