सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
२१ चैत, काठमाडौं ।
कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।
कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ । बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ ।
कोषले सञ्चयकर्ता तथा योगदानकर्तालाई चालु आर्थिक वर्षमा सञ्चित रकममा पाँच दशमलव ५० प्रतिशतका दरले व्याज प्रदान गरिरहेको छभने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट छ दशमलव ६० प्रतिशत व्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।
Post Comment