ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
२० फागुन, कपिलवस्तु ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् । ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो ।
आयोजना प्रमुख अविनाशी सिग्देलका अनुसार आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने छन् । आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरू सम्झौता भएर अलमलमा पर्ने गरेकोमा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ,’ मन्त्री खड्काले भने ।
Post Comment