वीरगन्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि
१५ फागुन, वीरगन्ज — मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि सुरु हुने भएको छ । भेट्रान्स सिटी क्लबको आयोजना वीरगन्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ ।
गोल्डकपको दोस्रो संस्करणमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सहलेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्ने भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्शेर राणाले बताए । गोल्डकप उपाधि विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।
सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । बेस्ट किपर र बेस्ट कोचका लागि पनि नगद राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । पर्सा र आसपासका क्षेत्रमा फुटबल खेलको गतिविधि बढाउन र खेलको प्रवर्धनका लागि गोल्डकप सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक सुवोध श्रीवास्तवले जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड सात लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । वीरगन्ज महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । गोल्डकप आयोजनाका लागि आदर्शनगर रंगशालामा अस्थायी प्याराफिट निर्माण गरिएको छ । नारायणी रंगशाला जीर्ण रहेकाले गोल्डकप आदर्शनगर रंगशालामा आयोजना गर्न लागिएको हो । गत वर्ष सम्पन्न भएको गोल्डकपको पहिलो संस्करण विभागीय टोली नेपाल पुलिस क्लबले विजयी भएको थियो ।
Post Comment