नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूदायबीच भएको झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।
‘स्थिति नियन्त्रणमा लिनका लागि ५० प्रहरी खटाएका छौं’, एसपी राठौरले भने । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) साँझ स्थानीय एक समूहले एक जना व्यक्तिलाई कुटपिट गरेका थिए । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिए । करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।
सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो । तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिए ।
Post Comment