
१० फागुन, पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ बजे आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा निधन भएको हो । उनका पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका पाँच छोरा र पाँच छोरी छन् ।

उनको आजै १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने बताइएको छ उनले पोखराको धार्मिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनी २०२१ सालमा पोखरा ९, २०२४ मा वडा नं. १७ को वडाध्यक्ष, २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए । यस्तै २०५८ सालमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिको अध्यक्षसमेत बनेर काम गरेका थिए । उनी पोखरा भीमकाली पाटनस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको २०४९ सालदेखि २०५७ सालसम्म अध्यक्ष थिए ।

साथै उनी २०५४ सालमा संस्कृत विश्वविद्यालयको सभासद बने भने विन्ध्यवासिनी संस्कृत विद्यापीठको भौतिक एवं शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । आचार्य २०३६ सालमा बहुदलीय व्यवस्थाका पक्षधर बने । आचार्य २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदको उम्मेद्वार बनेका थिए भने आचार्य २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । आचार्य नेपाली कांग्रेस क्षेत्र नं. ९९ को सभापति समेत बनेका थिए । २०४३ देखि २०४६ सालसम्म प्रौढ संगठनको गण्डकी अञ्चल सभापति भई आचार्यले प्रौढहरूको हकहितको संरक्षण तथा आत्मसम्मानका निम्ति उनी सक्रिय भएका थिए ।

पोखरास्थित महेन्द्र मावि, तालबाराही मावि, पार्दी मावि, महतगौंडाको जानकी प्रावि, राम मन्दिरसहित अधिकांश धार्मिक स्थल तथा मठमन्दिर स्थापनाको श्रेय पनि आचार्यलाई दिने गरिन्छ । उनको निधनप्रति नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगर कार्यसमिति र वडा कार्यसमिति पोखरा-१७ ले दुःख व्यक्त गरेको छ । कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पोखरा महानगर कार्यसमिति सचिव टुवराज बास्तोला, पोखरा-१७ सभापति देवराज आचार्यले आचार्यको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

यस्तै नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले प्रजातन्त्र सेनानी एवं कांग्रेसका अगुवा नेता आचार्यको निधनले आफू र सिंगो नेपाली कांग्रेस परिवार स्तव्ध, मर्माहत एवं भावविह्वल भएको उल्लेख गरेका छन् । उनले कांग्रेस नेता रंगीला आचार्यसहित सबै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Post Comment