१२ श्रावण २०८२, आईतवार

राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई

 

१ फागुन,  ताप्लेजुङ — १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ । होमपालिका र होममैदानको फाइदा लिंदै मैवाखोलाले २५ स्वर्ण सहित यस वर्षको उपाधि जितेको हो । यस वर्षको प्रतियोगिता मैवाखोला गाउँपालिकाको केन्द्र साँघुको खेल मैदानमा भएको थियो ।

आइतबारबाट सुरु भएको प्रतियोगितामा साविक विजेता आठराईत्रिवेणी गाउँपालिका उपविजेता बनेको छ । उसले २० स्वर्ण जित्यो । जिल्लाको एकमात्र फुङलिङ नगरपालिका भने १७ स्वर्णसहित तेश्रोमा खुम्चिएको छ । आयोजक मैवाखोलाले उसु, मार्सल आर्ट र कराँतेमा मात्रै १७ स्वर्ण जितेको प्रतियोगिता आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ तथ्याङ्क शाखाका चिरञ्जीवी चोङवाङले जानकारी दिए । नौ वटा स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा मेरिङदेनले दुई, मिक्वाखोला र पाथीभरा याङवरकले एकएक स्वर्ण जिते ।

फक्ताङलुङ र सिरिजंगा गाउँपालिका पदकविहीन भए । चोङबाङका अनुसार उनीहरूले स्वर्ण, रजत र कास्य कुनैपनि पदक जितेनन् । स्वण जित्न नसकेको सिदिङवा गाउँपालिकाले रजत र काश्य पदक जित्यो । भलिबल प्रतियोगितामा छात्रा तर्फको उपाधि मैवाखोलाले जित्यो भने फुङलिङ नगरपालिका उपविजेता भयो । छात्रको उपाधि मेरिङ्देनले जित्दा फुङलिङ उपविजेता बन्यो । कबड्डीतर्फको उपाधि छात्रमा फुङलिङ र छात्रामा मैवाखोलाले जिते । छात्रमा फुङलिङले मैवाखोलालाई हरायो भने छात्रामा मैवाखोलाले फुङलिङलाई बदला लियो ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी धेरैजसो खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यकारी अधिकृत यज्ञनिधि पौडेलले बताए । मैवाखोला गाउँपालिकाले पाँचसय वढी विद्यार्थीको सामूहिक नृत्य तथा मुन्धुमी सिलामसाक्माको प्रतिमा सहित विशेष कार्यक्रमका साथ उद्घाटन गरेको थियो । आगामी बर्षको प्रतियोगिता सिदिङवा गाउँपालिकामा हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश मावोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?