२६ जेष्ठ २०८२, आईतवार

साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

 

भुटानलाई पराजित गर्दै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।​सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अविनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो । त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए।  चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याए । त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औं मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो । भुटान  खेलको ७७औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए ।खेलको ७८औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए । च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा सोमबार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?