सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
३ पटक हेरिएको
Shares
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै

सारांश

  • २१ जेठ, काठमाडौँ ।
  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।
  • नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपाली सयम अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

२१ जेठ, काठमाडौँ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपाली सयम अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।  जारी शृंखलामा नेपाली टोलीले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो । जवाफमा नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा तल्लो क्रमका ब्याट्सम्यान करण केसीले महत्त्वपूर्ण योगदान गरेका थिए । उनले अविजित ६५ रन बनाए । यस क्रममा उनले आक्रामक ब्याटिङ गर्दै केवल ४१ बलमा चार छक्का र तीन चौका हिर्काए ।

ओपनर कुशल भुर्तेलले ५३, गलसन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र ओपनरसमेत रहेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २० रन बनाएका थिए । बलिङतर्फ रिजन ढकाल, करण केसी र सोमपाल कामीले दुई–दुई विकेट लिएका थिए ।   विश्वकप लिग–२ शृङ्खला खेल्न नेपाली टोली करिब तीन साताअघि नै इङ्गल्यान्ड प्रस्थान गरेको थियो । इङ्गल्यान्डमा स्थानीय टोलीसँग केही अभ्यास खेल खेलेर नेपाली टोली स्कटल्यान्ड पुगेको थियो । नेपाली टोलीले स्कटल्यान्डमा पनि स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो ।   लिग–२ प्रतियोगितामा नेपालले खेल्न लागेको यो १४औँ खेल हो । सोमबारको खेलमा स्कटल्यान्डलाई हराएपछि नेपाली टोली अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले १३ खेलबाट आठ अंक बटुलेको छ । नेपालले हालसम्म तीन जित र आठ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल भने अनिर्णीत रुपमा सकिएको छ ।

यसपटक लिग–२ प्रतियोगितामा नेपाली टोलीको अवस्था खासै सन्तोषजनक छैन । नेपाली टोलीका लागि स्कटल्यान्डमा जारी शृङ्खला निकै महत्त्वपूर्ण छ । नेपाली टोलीले आफ्नो तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ ।  नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ शृङ्खला सकिएपछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने कार्यक्रम छ । लिग–२ को प्रत्येक शृङ्खला सकिएपछि सहभागी टोलीहरुले टी–२० शृङ्खला खेल्ने परम्परा छ । लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने शृंखलाअघि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको नयाँ प्रमुख प्रशिक्षकमा स्टुअर्ट ललाई नियुक्त गरेको थियो । क्यानले चैत १५ गते उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपाली टोलीको प्रशिक्षकको भूमिकामा यो उनको पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । स्टकल्यान्डलाई हराएपछि उनले आफ्नो नयाँ जिम्मेबारीको सुखद सुरुवात गरेका छन् । यद्दपि, उनीसँग नेपाली टोलीलाई कठिन अवस्थाबाट अगाडि बढाउने चुनौती भने बाँकी नै छ ।  क्यानले स्कटल्यान्डमा जारी शृङ्खलाका लागि दक्षिण अफ्रिकाका निक पोथासलाई पनि कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । ५१ वर्षीय निक पोथासले यसअघि श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजको राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । विश्वकप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।  लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै आगामी विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

आईसीसीबाट प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । लिग–२ प्रतियोगिताको जारी संस्करणमा २० खेलबाट २८ अंक बटुलेको अमेरिका पहिलो स्थानमा छ । २० खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक जोडेको छ । यसैगरी, १७ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो, २० खेलबाट २० अंक जोडेको क्यानडा पाँचौँ, २० खेलबाट १४ अंक बटुलेको नामिबिया छैटौँ र १६ खेलबाट ६ अंक हात पारेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।  नेपाल र नेदरल्यान्ड्सबिच खेलिएको पछिल्ला पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्स केही बलियो देखिन्छ । पाँचमध्ये तीन खेलमा नेदरल्यान्ड्सले नेपाललाई हराएको छ । नेपालले दुई खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

नेपाल र नेदरल्यान्ड्सबिच खेल हुने डन्डीस्थित फोर्टहिल क्रिकेट स्टेडियममा मध्यम स्कोर बन्ने गरेको छ । यो स्टेडियममा लिग–२ अन्तर्गत खेलिएको पछिल्ला सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको तथ्याङ्कले जवाफी ब्याटिङ गर्ने टोलीलाई बलियो देखाउँछ । सातमध्ये पहिले ब्याटिङ गर्ने टोलीले दुई खेलमा जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने चार खेल जितेका छन् । एक खेल भने अनिर्णीत रुपमा सकिएको छ । यो स्टेडियममा बन्ने औसत स्कोर दुई सय २२ रन हो ।  यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर ६ विकेट गुमाएर तीन सय एक रन हो । त्यो स्कोर घरेलु टोली स्कटल्यान्डले लिग–२ अन्तर्गतकै खेलमा सन् २०२४ को जुलाई २६ तारिखमा नामिबियाविरुद्ध बनाएको थियो ।

एकदिवसीय क्रिकेटमा यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ९१ रन हो । यो स्कोर ओमानले लिग–२ अन्तर्गतकै खेलमा सन् २०२४ को जुलाई २२ तारिखमा स्कटल्यान्डविरुद्ध बनाएको हो । उक्त खेलमा ओमान २१.४ ओभरमै अलआउट भएको थियो । स्कटल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन कुमार झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?