कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
१९ चैत,काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान राजनीतिक परिवर्तनलाई लोकतन्त्रको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ स्मरण गर्दै नयाँ राजनीतिक शक्तिहरूको उदय पुराना दलहरूका लागि केवल चुनौती मात्र नभई लोकतान्त्रिक गणतन्त्रको सुन्दर फूलहरू रहेको बताएका हुन् ।

पुनका अनुसार २०८९ सालको निर्वाचनताका बालेन्द्र शाह, हर्क साङपाङ र रवि लामिछाने जस्ता नयाँ अनुहारहरूको उदयले नेपाली राजनीतिमा नयाँ ऊर्जा थपेको थियो । उनले भने, ‘हाम्रा जनयुद्धका कमाण्डर तथा शान्ति सम्झौता र जनआन्दोलनका नेतृत्वकर्ता कमरेड प्रचण्डले २०८९ सालको निर्वाचन जतिखेर स्वतन्त्र तर्फबाट वर्तमान सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह जित्दै हुनुहुन्थो । जतिखेर हर्क साङपाङ धरानतिर जित्दै हुनुहुन्यो, जतिखेर माननीय रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी बनाएर नयाँ अभियान चलाउँदै हुनुहुन्यो । त्यतिखेर उहाँले भन्नु भएको थियो । यो पुराना दलहरुलाई एउटा च्यालेन्ज आयो भन्दा होइन पुराना दलहरुलाई च्यालेन्ज मात्र होइन, लोकतान्त्रिक, गणतान्त्रिक फुलबारीका सुन्दर फुलहरु हो ।उनले थप भने, ‘आज हामी विभिन्न दल र पृष्ठभूमिबाट आएका भए पनि लोकतान्त्रिक फुलबारीका सुन्दर फूलका रूपमा एउटै स्थानमा उभिएका छौं।

उनले जनयुद्धकाल र त्यसपछिको शान्ति प्रक्रियाको स्मरण गर्दै संसदमा महिला प्रतिनिधित्वमा आएको वृद्धि उल्लेख गरे। ‘पहिले मुश्किलले ७ जना महिला सांसद हुन्थे, आज करिब ३४–३५ प्रतिशत महिला प्रतिनिधित्व छ,’ उनले भने ।पुनले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर लोकतान्त्रिक उपलब्धिलाई साझा जीतका रूपमा लिनुपर्ने धारणा राख्दै भने, ‘कसले जित्यो वा हार्यो भन्ने भन्दा पनि नेपाली जनताले जितेका छन्।’ उनले विभिन्न राजनीतिक आन्दोलन र नीतिगत प्रयोगबाट देशमा लोकतान्त्रिक, संघीय, समावेशी र सामाजिक न्यायमा आधारित व्यवस्था स्थापित भएको उल्लेख गर्दै अहिलेको संसदलाई ‘रंगिन संसद’ का रूपमा व्याख्या गरे।



Post Comment