२ चैत्र २०८२, सोमबार

स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल

२ चैत,काठमाडौं ।

प्रतिनिधिसभा सदस्यका लागि बारा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले जनताको सचेतताले नै देशमा हरेक परिवर्तन सम्भव हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक विश्लेषकहरूले वर्तमान व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने तर्क गर्दै आएको स्मरण गर्दै त्यसलाई जनताले गलत सावित गरेको बताए ।

उनले भने, ‘विभिन्न कालखण्डमा केही विश्लेषकहरूले यो व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने कुरा विभिन्न फोरममा राख्दै आएका थिए। तर आज जनताले ती भनाइहरूलाई गलत सावित गरिदिएका छन्। जनता नै जनार्दन हुन् र हरेक परिवर्तनको नेतृत्व जनताले नै गरेका छन्।’ धिमालले अब बन्ने सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार प्रशासनिक तथा प्रक्रियागत काम सम्पन्न भएपछि चाँडै नै बालेन शाह को नेतृत्वमा सरकार गठन हुने र त्यो जनताको सरकार हुने बताए। ‘अबको केही समयमा प्रशासनिक र प्रकृयागत गरिकाले चैत्रको पहिलो हप्ता सकिने वित्तिकै बालेन शाहको नेतृत्वमा सरकार बन्दै छ । त्यो जनताको सरकार हुने छ । अब केही समय हामीलाई आलोचना होइन् काम गरेको तरिकालाई प्रतिक्रियात्मक होइन् सहजिकरण गरिदिन आव्हान गर्छु । सही सल्लाह सुझाव लिन्छौं तर पार्टीको आवरणमा हामीलाई प्रश्न नगरिदिनुहोला, ’उनले भने ।

उनले केही समय सरकारलाई काम गर्न दिन आग्रह गर्दै आलोचनाभन्दा सहजीकरण र रचनात्मक सुझाव दिन आग्रह गरे। धिमालले नयाँ सरकार गठनसँगै ग्यासको मूल्यवृद्धि वा अभाव हुने भन्ने विषयमा मिडियामा आएका समाचारहरू अतिरञ्जित भएको दाबी गरे। उनले इमान्दारितापूर्वक काम गर्न अवसर दिन आग्रह गर्दै देश निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। उनले छोटो र प्रभावकारी मन्त्रिमण्डल गठन हुने र आवश्यकताअनुसार नीतिगत सुधार तथा संशोधन गरिने पनि जानकारी दिए।

Post Comment

छुटाउनुभयो कि ?