३० फाल्गुन २०८२, शनिबार

चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न

 

३० फागुन,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट निकालिएका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले अध्यक्ष राजेन्द्र लिङ्देनसँग आफूहरूलाई कारबाही पार्टी विधानको कुन धारा र व्यवस्थाका आधारमा गरिएको हो भनी प्रश्न गरेका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले स्पष्टीकरणको मौकासमेत नदिई पदबाट हटाउने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई नदिएको दाबी गरेका छन्।

२०८२ फागुन ३० गते हामीलाई पदमुक्त गरियो भन्ने नोटिस अनलाइन माध्यममा देख्यौँ। प्राकृतिक न्यायको सिद्धान्तअनुकूल स्पष्टीकरणको मौकासमेत नदिई, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अधिकारक्षेत्र मिचेर यस किसीमले पदमुक्त गर्ने अधिकार राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानले अध्यक्षलाई दिएको छैन, अतः कथित कारबाही विधानसम्मत छैन उनीहरूले विज्ञप्तिमा लेखेका छन्, त्यसैले पहिलो प्रश्न- विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने अवस्था वा बाध्यता के कारण आइलाग्यो? पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो? यस विषयमा हामी दुई मात्र नभई केन्द्रीय कार्यसमिति स्वयम् बेखबर रहेकोमा जानकारी सार्वजनिक गर्न हुन अध्यक्षज्यूलाई हामी विनम्र अनुरोध गर्दछौँ। पार्टी अध्यक्षबाटै पार्टीको विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएकोमा दुःख र खेद प्रकट गर्दछौँ।

Post Comment

छुटाउनुभयो कि ?