२८ फाल्गुन २०८२, बिहीबार

सिरहामा पाँच पूर्वमन्त्रीको जमानत जफत

चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी, प्रभावशाली नेतासहित पाँच पूर्वमन्त्री जमानत जोगाउन असफल

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै सिरहाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तन देखिएको छ । यसपटकको निर्वाचनमा स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै नयाँ राजनीतिक शक्तिले बलियो उपस्थिति देखाएको छ ।

निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएका सात पूर्वमन्त्रीमध्ये पाँच जनाले कुल सदर मतको १० प्रतिशत मतसमेत प्राप्त गर्न नसक्दा जमानत जोगाउन सकेनन् । निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारले सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसके जमानत जफत हुन्छ।

जमानत जोगाउन नसक्ने पूर्वमन्त्रीहरूमा राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, धर्मनाथ प्रसाद साह, विश्वेन्द्र पासवान र रामचन्द्र यादव रहेका छन् ।

सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पछि पार्दै जित हासिल गरेका हुन् । एमालेका रामशंकर यादव तेस्रो स्थानमा सीमित भए । २९ उम्मेदवार प्रतिस्पर्धा गरेको यस क्षेत्रमा तीन जनाबाहेक सबैको जमानत जफत भएको छ । १ लाख ११ हजार ९४९ मतदाता रहेको क्षेत्रमा ७१ हजार ५२ मत खसेकोमा ६७ हजार ३५२ मत सदर भएको थियो ।

 

सिरहा–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार १४ मत ल्याए । एमालेका नविनकुमार यादवले ६ हजार ७१३, नेकपाका मुक्तिनारायण सिंहले ३ हजार ६० तथा जनमत पार्टीका विनोदकुमार यादवले २ हजार ३६० मत प्राप्त गरे । यस क्षेत्रमा अधिकांश उम्मेदवारले १० प्रतिशत मत कटाउन नसक्दा २७ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ १ लाख १५ हजार ७६० मतदाता रहेको क्षेत्रमा ७३ हजार ७९ मत खसेकोमा ६९ हजार ६४३ मत सदर भएको थियो ।

 

सिरहा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुकुमार यादव ३२ हजार २४९ मतसहित विजयी भएका छन् । एमालेका निवर्तमान सांसद लिलानाथ श्रेष्ठ १० हजार १५६ मतसहित दोस्रो स्थानमा रहे । नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ र कांग्रेसका सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत ल्याएर जमानत जोगाए । तर जसपा नेपालका अशेश्वर यादव ५ हजार ६७१ मतसहित पाँचौं स्थानमा सीमित हुँदा जमानत जफत भएको छ । ४२ उम्मेदवार प्रतिस्पर्धा गरेको यस क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ ।

 

सबैभन्दा बढी चर्चा भएको सिरहा–४ मा पाँच पूर्वमन्त्रीबीच प्रतिस्पर्धा भएको थियो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी तथा पूर्वमन्त्री अजयशंकर नायकले ७ हजार ९७२ मत ल्याएर जमानत जोगाए ।

 

तर जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो, एमालेका धर्मनाथ प्रसाद साह र कांग्रेसकी चन्द्रकलाकुमारी यादवले १० प्रतिशत मत कटाउन नसक्दा जमानत जोगाउन सकेनन् । यसैगरी २०७९ को निर्वाचनमा सिरहा–२ बाट निर्वाचित जसपा नेपालका राजकिशोर यादव यसपटक आफ्नै गृहक्षेत्र फर्किए पनि ३ हजार ४८४ मत मात्र ल्याएर छैटौं स्थानमा सीमित हुँदा जमानत जफत भएको छ ।

Post Comment

छुटाउनुभयो कि ?