वासना थापा: कर्णालीबाट चुनाव जित्ने पहिलो महिला
२३ फागुन,सुर्खेत ।
१२ वर्षपछि खोलो फर्किन्छ, भन्ने नेपाली उखान यतिबेला दैलेखमा प्रमाणित भएको छ । त्योपनि ऐतिहासिक रेकर्डसंगै ।दैलेख क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार वासना थापा निर्वाचित भएसंगै कर्णालीको संसदीय राजनीतिमा पहिलो रेकर्ड कायम भएको हो । यसअघिका संसदीय चुनावमा महिला उम्मेदवार नै नहुने र भएपनि चुनावै नजितेको इतिहास तोड्दै कर्णालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो पटक चुनाव जित्ने रेकर्ड बनाउन सफल भएकी हुन् ।

कर्णालीमा महिलाहरूको राजनीतिक सहभागिता समानुपातिक प्रणालीबाट हुँदै आएपनि प्रत्यक्ष चुनाव जितेर संसद् पुग्ने अवसर अहिलेसम्म कसैले पाएका थिएनन् । यसअघि स्थानीय चुनावमा नारायण नगरपालिकाको उपप्रमुखको निर्वाचनमा एमालेकी सावित्री मल्लसंग पराजित भए पनि अहिले एमालेकै उम्मेदवारलाई उछिन्दै वासनाले संघीय संसदको यात्रा तय गरेकी हुन् । त्यो बेलाको चुनावमा उनकी दिदी एवं चलचित्र अभिनेत्री विपना थापा नै दैलेख पुगेर बहिनीका पक्षमा भोट माग्दासमेत असफल भएकी वासना यसपाली रास्वपाको उर्लदो भेललाई छिचोल्न सफल भइन् । खासगरी एमालेको अभेद्य लालकिल्ला भनिने दैलेख–१ मा वासनाको जीतसंगै १२ वर्षपछि नेपाली कांग्रेसले आफ्नो गुमेको साख र विरासत फर्काउँदै विजयको झण्ड फर्फराउन सफल भयो । थापाले १२ हजार तीन सय ७२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार सात सय ९६ मत प्राप्त गरे । उनीहरूको मतान्तर पाँच सय ७६ छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिन्हमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले यसपटको विषम् परिस्थतिमा वासनालाई जिताए । २०६४ मा माओवादीले देशभर एकलौटी नतिजा निकाल्दै गर्दा कर्णालीमा बिऊ राखेको दैलेख १ ले अहिले रास्वपाको आँधीबेहरीका बीच आप्mनो रुखको जरा बलियो बनाएको प्रमाणित गर्यो । त्यसअघि २०४८, २०५१ र २०६४ को निर्वाचमा यस क्षेत्रबाट कांग्रेसले जित्दै आएको क्षेत्र हो यो । त्यो बेला कांग्रेसको गढ मानिने यो क्षेत्रमा चुनावी तालमेल र दलीय गठबन्धनका उम्मेदवार मात्र थिए । गठवन्धनका कारण कहिले हलो त कहिले हसियाँ हथौडामा भोट हाल्न बाध्य त्यस क्षेत्रका कांग्रेस समर्थक र मतदाताले रास्वपाका उर्लदों लहरका बीच युवा र महिलालाई यस पटक प्राथमिकतामा राखे । रास्वपाका नन्दकिशोर बस्नेतले आठ हजार एक सय ५१ मत प्राप्त गर्दा २०७०को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को चुनाव जितेका नेकपाका अम्मरबहादुर थापाले चार हजार दुई सय ५६ मत मात्र पाए ।

यसअघि पटक पटक चुनाव जित्दै आएका अम्मरबहादुर थापा र रविन्द्र शर्माजस्ता दिग्गजलाई पराजित गर्दै वासनाले कर्णालीमा कांग्रेसको पहिलो जीत दर्ता गराएकी हुन् । दैलेख १ मा यसअघि राप्रपाले कुन्ति शाहीलाई २०७९ मा उम्मेदवार बनाएको थियो । उनले जम्मा ४ हजार ६ सय १२ मतका साथ चौथो भएकी थिइन् । त्यसअघि २०६४ को संविधानसभाको निर्वाचनमा नेपाल मजकदुर किसान पार्टीले नर्माकुमारी गुरुंगलाई उठाएको थियो । दैलेखको संसदीय चुनावमा महिला उम्मेदवार बन्ने नर्मा पहिलो हुन् । तरपनि उनले जम्मा १ हजार ६ सय ६७ मत मात्र पाइन् । यसपाली २०७० मा दोश्रो संविधानसभाको निर्वाचनपछि दैलेख क्षेत्र नं. १ को मतपत्रमा छापिएको चुनाव चिन्ह रुखमा कांग्रेस समर्थक र मतदाताले १२ वर्षपछि मतदान गर्ने मौका पाएका हुन् । त्यसअघि गठवन्धन र चुनावी तालमेलका कारण त्यस क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको थिएन । कांग्रेसले दैलेखमा पहिलो पटक उम्मेदवार बनाएको महिलाले पहिलो पटकमै चुनाव जितेको यो पहिलो पटक हो ।

दुई निर्वाचन क्षेत्र रहेको देलैखमा वासनासहित तीन महिला र १८ पुरुष गरी २१ जनाले उम्मेदवारी दिएका थिए । कर्णालीभरीका १२ निर्वाचन क्षेत्रमा११ महिलासहित र एक सय २७ जना चुनावी मैदानमा थिए। कर्णालीका प्रमुख राजनीतिक दलहरूले नै महिलालाई उम्मेदवार बनाउनै कञ्जुस्याई गरेको अवस्थामा वासनाको जीतले महिलाको नेतृत्व क्षमता र परिवर्तनको चाहनलाई प्रमाणित गरेको छ । उनी आफैलेपनि जेनजी र महिला दुवैको प्रतिनिधित्व आफूले गर्ने भन्दै परिवर्तनका पक्षमा भोट गर्न अपिल गर्दै भावनात्मक रुपमा मत माग्ने गरेको थिइन् । वासनाको यो सफलताले कर्णालीमा महिला नेतृत्वको नयाँ अध्याय र अभ्यास सुरु गरेको छ।



Post Comment