पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
२ मंसिर, काठमाडौं ।
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले अब आफ्नो राइडरहरुका लागि अनिवार्य परीक्षाको व्यवस्था गरेको छ । राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाउँदै, राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, सुरुदेखि नै कक्षामा बसेर प्रशिक्षण दिने अभ्यास निरन्तरता दिँदै आएको थियो भने पठाओ नेपालको सेवा देशभर फैलिँदै गएसँगै काठमाडौँ बाहिरका चालकहरूलाई लक्षित गर्दै यो प्रक्रिया क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिएको छ ।

पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्नका लागि ब्लुबुक, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ । त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस)मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ । सो प्रशिक्षणपछि लिइने परीक्षामा परीक्षार्थिले कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ । तथापि, असफल भएकाहरूले भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्नेछन् । यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ । इच्छुकहरूले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन् ।

ड्राइभ एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गरिसकेपछि पठाओको कार्यालयले ती कागजातहरूको जाँच गर्नेछ र सबै कागजात सही भएमा २४ घण्टाभित्र खाता प्रमाणीकरण हुने कम्पनीले जनाएको छ । त्यसपछि, पठाओ ड्राइभ एपमार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ । प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ । जुन पठाओ एपबाट नै दिन सकिन्छ । उक्त परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएस मार्फत सम्झौतापत्र पठाइनेछ । र, सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिन्छ ।




Post Comment