कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
८ पुस, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन कान्तिपुरलाई चेतावनी दिएको छ ।
शनिवार पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको र उक्त घटनाको समाचार सम्प्रेषण गर्ने क्रममा कान्तिपुरले भ्रमपूर्ण कथ्य राखेको उल्लेख गर्दै रास्वपाले यस्तो चेतावनी दिएको हो । “हिजोको घटाना वा सन्दर्भमा लेखिएका कपोलकल्पित र भ्रमपूर्ण समाचारहरूको खण्डन गर्दै समाचारहरूमा उल्लेख गरिएका विवरण तथ्यसङ्गत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सम्बन्धित सबै सञ्चारमाध्यमलाई सचेत पनि गराउँछौँ,” आइतबार रास्वपा प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यमहरूले प्रतिशोध साँधेर निरन्तर आफूहरूविरुद्ध प्रहार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यसअघि हिजोको घटनाको सन्दर्भमा कान्तिपुरले लेखेको समाचारको खण्डन सभापति लामिछानेले यसअगावै गरिसकेका छन् । उनले घटनाअगावै आफ्नो समाचार तयार पारेको भन्दै आपत्ति जनाएका थिए ।