संसद्ले सार्वजनिक गर्यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
१२ असोज, काठमाडौं ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजसनक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् । प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए । यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अोलीले राजीनामा दिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था बनेन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको विवरण सार्वजनिक गरेको हो । वर्षे अधिवेशन समेत लिइने छैटौं अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्यो । बजेट आश्रित विधेयकहरू पनि पारित गर्यो । उक्त अधिवेशनमा प्रतिनिधिसभामा १० वटा सरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भए, २ वटा विधेयक प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रिय सभामा पठाइएको थियो । ४ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा थिए । नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथिको सैद्धान्तिक छलफल सकिएको थियो । सभाको अघिल्ला अधिवेशनहरु मार्फत् प्राप्त १८ सरकारी र २ गैरसरकारी विधेयक मध्ये ४ वटा विधेयकहरू संघीय संसदबाट पारित भए । संघीय निजामति सेवा विधेयक र जलस्रोत विधेयक सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको थियो । विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको थियो । १० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका थिए र २ वटा गैरसरकारी विधेयक दर्ता मात्रको स्थितिमा रहेका थिए ।





Post Comment