ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
१२ असोज, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए । उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउँछ र देशको रिजर्भ बढाउँछ ।’

कुकिङ सेक्टरमा पनि एलपी ग्यासको सट्टा बिजुलीमार्फत खाना पकाउने प्रविधिमा जानुपर्नेमा घिसिङको जोड थियो । उनले भने, ‘ग्यासलाई रिप्लेस गरेर इनर्जी ट्रान्जिसनमा जानु आवश्यक छ । धेरै सेक्टरहरू छन् जहाँ फ्युल र कोललाई इलेक्ट्रिसिटीले रिप्लेस गर्न सक्छ ।’ मन्त्री घिसिङले नेपालमा उत्पादित जलविद्युत् ऊर्जा सबै क्षेत्रमा प्रयोग गरी देशलाई दिगो ऊर्जा प्रयोगतर्फ लैजानुपर्ने बताए । उनले ग्रीन हाइड्रोजन, औद्योगिक उत्पादन र इँटा उद्योग जस्ता क्षेत्रमा पनि बिजुली प्रयोगको आवश्यकता औंल्याए । नेपालको कार्बन उत्सर्जन निकै कम भए पनि हामी कार्बन न्यूट्रल मात्रै नभइ कार्बन नेगेटिभतर्फ जानुपर्नेछ,’ उनले भने, ‘यसका लागि आवश्यक पूर्वाधारहरू, जस्तै चार्जिङ स्टेसन, विस्तार गर्नुपर्छ ।’




Post Comment