१४ चैत्र २०८२, शनिबार

सर्लाहीमा जेनजी आन्दोलनबाट ६३ करोड ५५ लाख बराबरको क्षति

७ असोज, सर्लाही ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सर्लाहीमा सार्वजनिक सम्पत्तिमा ठूलो मात्रामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले दिएको प्रारम्भिक विवरणअनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा तोडफोड र आगजनी हुँदा जिल्लाभर ६३ करोड ५५ लाख बराबरको सम्पत्ति नष्ट भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार जिल्लाका २० पालिकामध्ये ६ वटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको छ ।

पूर्ण क्षति भएका पालिकामध्ये लालबन्दी नगरपालिकामा सबैभन्दा धेरै १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, ईश्वरपुरमा १२ करोड, बरहथवामा १० करोड, हरिपुरमा दुई करोड ७५ लाख, हरिपुर्वामा दुई करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा तीन करोड एक लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । आंशिक क्षति पुगेकामा हरिवन नगरपालिकामा १० करोड चार लाख र बागमती नगरपालिकामा तीन करोड ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै, सामान्य क्षति पुगेकामा ब्रह्मपुरी गाउँपालिका १६ लाख, मलङ्गवा नगरपालिका ६ लाख र पर्सा गाउँपालिका १२ लाख रहेका छन् ।

प्रदेश र संघअन्तर्गतका कार्यालयमा समेत क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ कृषि ज्ञान केन्द्र मलङ्गवामा १५ लाख बराबरको सामान्य क्षति पुगेको छ भने संघीय मातहत प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइमा ४८ लाख बराबरको आंशिक क्षति र हुलाक कार्यालय लालबन्दीमा तीन लाख बराबरको सामान्य क्षति पुगेको प्रशासनले जनाएको छ । त्यस्तै, नेपाल प्रहरीका विभिन्न युनिटमा एक करोड ४५ लाख, सशस्त्र प्रहरीका चेकपोष्टमा ६ लाख र जिल्ला अदालत सर्लाहीमा पाँच लाख बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?