खड्का र देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु
६ असोज, काठमाडौँ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

‘जेन–जी’ आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो । ‘आगजनी भएका कतिपय नेताका घरमा नोट भेटिएको र कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेको भनी विभिन्न तस्बिर र भिडियो बाहिरिएका थिए, यसमा हामीले सूक्ष्म रूपमा नियालिरहेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘अहिले बाहिर आएका विवरणहरूको प्रारम्भिक स्क्रिनिङपछि घटनास्थलमै गएर हेरिएको छ ।’

विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भए उनीहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ । यता, राजस्व अनुसन्धान विभागका एक अधिकारीले पनि नेताका घरमा जलेको अवस्थामा नेपाली र विदेशी मुद्रा भेटिएको विषयलाई ‘नोटिस’ मा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि गएर अवलोकन गर्ने तयारीमा जुटेको एक अधिकारीले जानकारी दिए । दाहालको जलेको निवासमा पनि अहिले प्रहरी खटाएर पहरा दिइएको छ । घर जलेपछि दाहाल अन्यत्र बस्दै आएका छन् ।




Post Comment