जेनजी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपि अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन् । ‘महानगरका विभिन्न शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात तथा कुर्ची टेलब लगायतका फर्निचर आगजनी तथा चोरी गरेर लगेका छन’, उनले भने, ‘कम्प्युटर, प्रिन्टर्स, कम्प्युटरको हार्डड्राइभलगायतका अत्यावश्यक उपकरण चोर्ने र जलाउने दुवै भएका छन् । सबैको व्यवस्थापन गरेर पहिलाकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिन्छ ।’ प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिए । ‘वीरगञ्ज महानगरमा गत मङ्गलबार साढे १२ बजेपछि आक्रमण गरेर आगजनी तथा नष्ट गर्ने काम सुरुवात भएको थियो, अहिले महानगरको ९५ प्रतिशत संरचनामा क्षति भएको छ’, उनले भने ।

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ वटा सवारीसाधन जलेर नष्ट भएको बताए । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याएको एउटा सवारीसाधन जलेर नष्ट भएको छ । एक जना ठेकेदारको एउटा गाडी जलेर नष्ट भएको छ’, उनले भने, ‘तीन वटा विद्युतीय रिक्सा पनि जलेर नष्ट भएका छन् ।’ उनले सवारीसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गरे । यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ । महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ । वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ । त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ ।

Post Comment