चार्लीको हत्यापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘साँचो महान् अमेरिकी देशभक्त चार्ली किर्कको सम्मानमा म अमेरिकाभरीका सबै झण्डा आइतबार साँझ ६ बजेसम्म आधा झुकाउन आदेश दिन्छु।’ चार्ली किर्क टर्निङ प्वाइन्ट यूएसए (टीपीयूएसए) नामक संस्था सञ्चालन गर्थे, जसमार्फत उनी विद्यालय तथा कलेजमा गएर विद्यार्थीलाई राजनीति बुझाउँथे। उनी ट्रम्पका कट्टर समर्थक मानिन्थे। हालसम्म आक्रमणकारी को हो र किन आक्रमण गरियो भन्ने स्पष्ट भएको छैन।
ट्रम्पको श्रद्धाञ्जली
ट्रम्पले ट्रुथमा लेखेका छन्, ‘महान् र साँच्चिकै असाधारण चार्ली किर्क अब यस संसारमा रहेनन्। अमेरिकी युवालाई कसैले पनि उनी जत्तिकै राम्रोसँग बुझ्न सकेन। सबैले उनलाई माया र सम्मान गर्थे, विशेषतः म।’ उनले अगाडि थपेका छन्, ‘मेलानिया र म उनको पत्नी एरिका तथा परिवारजनप्रति संवेदना व्यक्त गर्दछौं। चार्ली, हामी तपाईंलाई माया गर्छौं ।’ कार्यक्रममा उपस्थित केही व्यक्तिहरूले द गार्जियनलाई बताएअनुसार, सामूहिक गोलाबारी विषयमा प्रश्न सोधिँदै गर्दा किर्कलाई गोली हानिएको हो। डेजरेट न्यूजकी रिपोर्टर एम्मा पिट्सले भनिन्,’पहिलो प्रश्न थियो, पछिल्ला वर्षहरूमा कति ट्रान्सजेन्डर शूटर सामूहिक गोलीबारीमा संलग्न थिए?’ किर्कले त्यसको जवाफ दिए। त्यसपछि अर्को प्रश्न आयो, ‘पछिल्ला १० वर्षमा कति सामूहिक गोलीबारी भए? यो प्रश्नको जवाफ दिंदै गर्दा गोली चल्यो।’

क्याम्पस बन्द, आक्रमणकारी फरार
घटनापछि युटा भ्याली विश्वविद्यालयको क्याम्पस बन्द गरिएको छ। विश्वविद्यालयका प्रवक्ता एलेन ट्रेनरले न्यूयोर्क टाइम्सलाई बताएअनुसार, किर्कलाई करिब १८० मिटर टाढाको भवनबाट गोली हानिएको थियो। पहिले एकजनालाई पक्राउ गरिएको थियो तर पछि उनी आक्रमणकारी नभएको पुष्टि भयो। अहिलेसम्म वास्तविक आक्रमणकारी पक्राउ परेका छैनन्। हाल चारवटा सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका छन्। यसअघि २०२४ जुलाई १३ मा पेनसिल्भेनियामा चुनावी सभामा ट्रम्पमाथि पनि गोली प्रहार भएको थियो। २० वर्षीय आक्रमणकारीले करिब ४०० फिट टाढाबाट ८ राउन्ड गोली चलाएका थिए। तीमध्ये एक गोली ट्रम्पको दायाँ कान छेड्दै गएको थियो। उक्त घटनापछि ट्रम्पको सुरक्षाबारे धेरै प्रश्न उठेका थिए ।
Post Comment