२६ भाद्र २०८२, बिहीबार

तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव

१२ भदौ, काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए । त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे ।

उनले भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् । राणाशासनदेखि नै यही चल्दै आएको छ । कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ ।  तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि । त्यो राज्यले गर्नुपर्यो ।’

त्यस्तै उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए । किसानहरु सडकमा उत्रिदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ । ‘सरकार गैरजिम्मेवार छ । जिम्मेवार सरकारले किसानहरु, जनताहरु सडकमा उत्रिदा आफ्ना आवाजहरु राख्दा तुरुन्त ध्यान दिनुपर्छ । र त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो र सरकारको दायित्व पनि हो,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment