कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पछिल्लो समयमा कैलाली लागुऔषधको हब बन्दै गएको बताएका छन् । बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितिकाे बैठकमा उनले यस्तो बताएका हुन् । कैलालीको टिकापुर क्षेत्रमा लागुऔषध कारोबार र दुर्व्यसन गर्नेहरू बढिरहेको उनको भनाई छ । कारागार अनुगमन गर्ने क्रममा आफूहरू त्यो क्षेत्रमा पुग्दा त्यहाँको स्थानीय प्रशासन, प्रहरी प्रशासन र स्थानीयले पनि यो कुरालाई गम्भीर ढङ्गले उठाएको उनले बताए ।
खुला सीमा नाका कारण नेपाल र भारत गर्न सजिलो भएकोले यो क्षेत्रमा लागू औषध कारोबार मौलाएको उनको भनाई छ । यसलाई नियन्त्रण गर्नको लागी सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । यस्तै लागुऔषध नियन्त्रणको लागी कूटनीतिक माध्यमबाट भारतसँग पनि पहल गर्नुपर्ने उनको भनाई छ । उनले भने- ‘कैलालीको विषय अलि जटिल पनि छ । कैलालीमा लागुऔषधको हब पनि बन्दै गएको छ । अझ टिकापुर साइटतिर लागू औषध कारोबार पनि गर्ने, दुर्व्यसन पनि गर्ने । यो हामी जेल अनुगमन गर्न जाने क्रममा पनि यो विषय उठेको थियो । त्यहाँका स्थानीय प्रशासन, प्रहरी प्रशासनले यी विषयहरूलाई उठाएको थियो ।
बैठकमा उनले कैलाली कारागारमा झडपका घटना पटक पटक हुने गरेको बताए । हालको घटना हुनुभन्दा अगाडी नै हिंसात्मक घटना हुँदैछ, भन्ने सूचनाहरू आए पनि सरकारले ध्यान नदिएको उनको आरोप छ । यसअघि २०७८ सालमा कैलाली कारागारमा हिंसात्मक घटना हुँदा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।






Post Comment