८ श्रावण २०८२, बुधबार

निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध

४ साउन, सर्लाही ।

सर्लाहीको लालबन्दीमा व्यापारीले तरकारी नकिनेपछि आक्रोशित किसानहरूले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्। आइतबार बिहानदेखि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रबाट फर्केका किसानहरूले तरकारी नै बोकेर राजमार्गमा उभिँदा सडक अवरुद्ध भएको हो।

कृषि उपज संकलन केन्द्रमा बिक्रीका लागि ल्याइएको तरकारी थोक व्यापारीहरूले नकिनेपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन्। थोक व्यापारीहरूले नगरपालिकाले लगाएको निकासी करको विरोध गर्दै तरकारी खरिद गर्न अस्वीकार गरेका थिए। कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार नगरपालिकाको निर्णयका कारण बजारमा तरकारीको कारोबार नै ठप्प भएको छ।

किसानहरूको उत्पादित तरकारी थन्किँदा उनीहरू आक्रोशित बनेर राजमार्गमै प्रदर्शनमा उत्रिएका हुन्। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधनहरू बीचमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्। स्थानीय प्रशासनले स्थिति समाधान गर्न पहल थालेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?