मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो
४ साउन, विराटनगर ।
हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए ।
‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ,’ उनले भने, ‘अहिले यातायात अवरुद्ध छ ।’ राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएकाे बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएकाे थियाे ।त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सन्चालन गरिएको थियो ।
गत जेठ ३१ गते मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोलाको बेलिब्रिज निर्माण सक्ने भनिएकै दिन नै भाँचिएको थियो । बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
Post Comment