८ श्रावण २०८२, बुधबार

कोशीमा कोरोना सङ्क्रमणको जोखिम, के छ सरकारी तयारी ?

२७ असार, विराटनगर ।

भारतमा तीव्र रूपमा फैलिरहेको कोरोना सङ्क्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सतर्कता अपनाइएको छ । सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्‍यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान नै सञ्चालन गरेको हो ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएकाले महानगरपालिकाले खोप अभियान सञ्चालन गरेको जानकारी गराए । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध भएको र स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवको भनाइ छ । विगतमा पनि सङ्क्रमण आउँदाखेरि कहीँ कहीँ मात्रै आएको थियो तर सङ्क्रमण बढ्न थाल्यो र महामारीको नै रूप लियो अहिले पनि देश र विदेशमा पनि मृत्यु हुनेदेखि सङ्क्रमितको सङ्ख्यासम्म नै बढ्दै गइरहेको हो । हामीले विगतलाई पनि ध्यानमा राखेर अब ढिलाइ गर्नु हुँदैन भनेर तयारी थालेका हौँ,’ उनले भने । सङ्क्रमण पुष्टि मात्रै नभएर असार महिनामा मात्रै कोशी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेको तथ्याङ्क सरकारसँगै छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ र इलामका एक/एक जना महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै होम आइसोलेसनको व्यवस्था, नियमित परीक्षण, र खोप अभियानलाई पनि निरन्तरता दिन निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थी बताउँछिन् । ‘हामीले खोप अभियान समेत सञ्चालन गरेको अवस्था छ । सङ्क्रमणको सङ्ख्या समेत बढ्दै जाँदा जोखिम समेत बढ्दै जाने भएकोले हामीले तयारी अपनाएको हो । तर, अहिले नै आत्तिनुपर्ने अवस्था चाहिँ होइन । लक्षित वर्गले खोप समेत लगाउन सक्नुहुन्छ,’ उनले भनिन् । पन्थीका अनुसार कोशी प्रदेशमा पछिल्ला दिनमा नै २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ११ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्यको जोखिमलाई ख्याल गर्दै सीमा नाकाहरूमा समेत आवश्यक सतर्कता बनाइएको सरकारी दाबी रहेको छ । महामारीका रूपमा विश्वव्यापी फैलिएको सङ्क्रमण पछिल्लो महिना केही देशहरूमा समेत तीव्र रूपमा फैलिरहेको छ । छिमेकी मुलुक भारतमा समेत तीव्र गतिमा बढी रहेको सङ्क्रमण खुल्ला सीमा र आवतजावतले थप नेपालमा फैलन सक्ने खतरा जानकारहरूले औँल्याएका छन् ।

नागरिकले जनस्वास्थ्यका मापदण्ड पुरा गरेर मात्रै दैनिक जीवनयापन गर्नका लागि जनस्वास्थ्यका अभियान्ताहरूले सुझाव समेत दिएका छन् । नेपाल जनस्वास्थ्य सङ्घको केन्द्रीय महासचिव समेत रहेका जनस्वास्थ्यका अभियन्ता कैलाश खाकी श्रेष्ठले बिरामी नभईकन ध्यान दिने अवस्था नरहेको बताउँदै त्यो घातक हुने बताए ।

उनले भने,‘पहिले पनि कोरोना निर्मूल भएको होइन । जीवनयापनको सुधारपनले समेत कोरोनासँग लड्न सक्ने अवस्था रहेछ भन्ने कुरा थाहा भएकै छ । थाहा पाएपछि जीवनस्तर सुधार्ने भन्दा पनि अगाडिबाटै सचेत हुनुपर्दछ । राज्यका तर्फबाट समेत प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।’ के खोप अझै आवश्यक छ ? जनस्वास्थ्यका जानकारहरूका अनुसार कोरोनाको खोपले भनेको रोगसँग लड्न सक्ने शक्ति बढाउँछ र जोखिम पनि कम हुन्छ । त्यस कारण खोप लगाएर एक वर्ष कटिसकेकाले खोप लगाउन आवश्यक छ । हर्ड इम्युनिटीले नै अहिले हामी सुरक्षित रहेको भन्दै खोल अभियानलाई साथ दिनुपर्ने उनीहरूको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?