पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
२१ असार, काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समृद्धिका निम्ति धेरै कुराहरु रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको बताउनु भयो । पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न जरुरी रहेको बताउँदै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताउनु भयो । पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरु छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ति सम्भावना छ ।
हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवद्र्धन गर्नुपर्छ । हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन । राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने,स्वदेश र विदेशका निजी क्षेत्रलाई जाउँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसावले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’ उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।
Post Comment