सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
१२ असार, सर्लाही।
सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंजस्थित युवकलाई ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् । बुधवार राति लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कबिलासी नगरपालिका ८ का २० वर्षीय सचिन साह गुप्ता गुप्ताको मृत्यु भएको हो । गुप्तालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो ।
तर चिकित्सकले उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपरमा घटनास्थलमै आक्रोशित स्थानीयले आगो लगाएको थियो । टिपर जलेर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । पहिचान खुल्न नसकेका चालक भने फरार भएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले क्षतिग्रस्त टिपरलाई आज बिहान क्रेनको सहायताले तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुर लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
Post Comment