सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
२२ जेठ , सर्लाही। सर्लाहीको मलंगवाबाट लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले तीन जनालाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरेको छ।
जेठ २१ गते साँझ अन्दाजी ५:०० बजेको समयमा मलंगवा नगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट विशेष सूचनाका आधारमा प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका–१० का २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षीय मुकेश पण्डित तथा चक्रघट्टा गाउँपालिका–२ औरहीका १८ वर्षीय पंकज कुमार राउत रहेका छन्। प्रहरीका अनुसार उनीहरूबाट “NITRAVET-10” लेखिएको लागुऔषध ८९ पातामा २६७० चक्की बरामद गरिएको छ।
साथै, भारतीय नम्बर प्लेट भएका दुईवटा मोटरसाइकल (BR 32 X 1753 र BR 30 N 7825) समेत नियन्त्रणमा लिइएको छ। बरामद सामग्रीसहित तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Post Comment